यिनी हुन् नेपालका ‘दानवीर’ सांसद् , जसले गरे जनताको लागि करोडौको जग्गादान

, , 1 Comment

राजा हरिश्चन्द्रबाट प्रेरित नेपालमा एक जना दानी सांसद छन्  जसले गरेको दानको फेहरिस्त निकै लामो छ । यी ‘दानबीर’ सांसद हुन् चन्द्रकान्त चौधरी । प्रतिनिधिसभा सदस्य चन्द्रकान्त सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी हुन् । नेताहरुले कुम्लाउने मात्र गर्छन् भन्नेहरुका लागि अपवाद हुन् उनी । ७२ वर्षे चन्द्रकान्तले बजार बसाउनेदेखि लिएर सरकारी कार्यालय, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था, खानेपानीका लागि बिघौं जग्गा दान र नगद सहयोग गरेका छन् ।

‘विना कुनै स्वार्थ जग्गा दान गर्दै आएको छु,’ चन्द्रकान्त भन्छन्, ‘यहाँका जनताले सबै सेवा, सुविधा आफ्नो गाउँ-ठाउँमा पाउन् भन्ने अपेक्षा छ । र, यही अपेक्षाका लागि अहिले पनि काम गरिरहेको छु ।’ मुलुक संघीयतामा प्रवेश गरेसँगै नयाँ स्थानीय तह निर्माण भएपछि नगरपालिकाको भवन बनाउन करोडौं मूल्यको जग्गा दान गरेका छन् उनले । ‘पातो बजारकै १० कठ्ठा जग्गा उहाँले नगरपालिकाको भवन निर्माणका लागि दान गर्नुभएको छ,’ नगरपालिकाका मेयर शिवनारायण साहले भने, ‘जग्गाको मूल्य पाँच करोडभन्दा बढी छ ।’

हरेक क्षेत्रमा दानैदान

सांसद चन्द्रकान्त जमिन्दारका छोरा हुन् । उनका बुवा उमाकान्त अत्यधिक जग्गा भएका व्यक्ति थिए । २०३३ सालमा जंगलै जंगल रहेको पातो क्षेत्रमा बजार बनाउन जग्गा दिए उनले । र, पसलहरु खोलाउन लगाए । त्यसबेला १२ बिघा बजारका लागि दान दिइएको थियो । ‘बजार बनाउने बेला बाटोको पनि समस्या देखिएको थियो,’ सांसद चौधरीले भने, ‘बजार आउन जान बाटोका लागि ५ बिघा जग्गा थप दिएँ त्यही बेला ।’

सोही समय शिक्षाको कमी महसुस गरे चन्द्रकान्त र उनका पिताले । छोरालाई भारतको दरभंगा पढाउन पठाएपछि उनका पितालाई गाउँमै विद्यालय खोल्न मन लाग्यो । २०३३ सालमा भारतको दरभंगास्थित मारवाडी विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको समयमा उनी गाउँ आए र सोही समयमा विद्यालय खोल्ने सोच बनाए । यसका निम्ति शुरुमा ४७ बिघा जग्गा दान गरे चन्द्रकान्तले ।

बुवा उमाकान्तले धेरै भाकल गरेपछि जेठो छोराको रुपमा चन्द्रकान्त जन्मिएका थिए । चन्द्रकान्तको हरेक कुरा उमाकान्तले मान्थे । उनले कुनै कामका लागि जग्गा दान दिन खोज्दा बुवा उमाकान्तले रोक्दैनथे । ‘बुवाले पनि छोराले राम्रो काम गरिरहेका छन् भनेर साथ दिनुहुन्थ्यो,’ चन्द्रकान्तले भने ।

चन्द्रकान्तको नामबाटै बुवा उमाकान्तले विद्यालय खोले । ‘तर बुवाले मेरो बुवा कन्तलालको नामबाट माध्यमिक विद्यालय बनाउन आग्रह गर्नुभयो । मैले त्यसैअनुसार गरेँ र पुनः पाँच बिघा जग्गा दिएँ,’ उनी भन्छन् । पछि होस्टल बनाउन, खेल मैदान बनाउन र भवन निर्माण गर्नसमेत गरी ६३ बिघा जग्गा विद्यालयलाई प्रदान गरिएको उनी बताउँछन् । विद्यालय खुल्यो । बजार पनि बन्यो । तर सरकारी सेवा, सुविधा लिन यस क्षेत्रका जनतालाई सास्ती व्यहोर्नुपर्ने अवस्था बिद्यमान थियो । यो आवश्यक्तालाई महसुस गरेका चन्द्रकान्तले शुरुमा १३ कठ्ठा जग्गा दान दिएर स्वास्थ्य चौकी खोल्न लगाए ।

यस क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउन थालेपनि कृषकहरुका लागि समस्या कायमै थियो । किनभने पशु चौपाया बिरामी परे टाढा लग्नुपर्ने हुन्थ्यो उपचारका लागि । यो अवस्था देखेपछि उनले पुनः १३ कठ्ठा जग्गा दिए कृषि कार्यालय र पशु कार्यालय स्थापनाका लागि । गाउँमा सबै आवश्यक्ता पूर्ती हुँदै जाँदा सुरक्षाको सवाल अहंम बन्यो । ‘शुरुमा त आफैं गाउँ-गाउँ घुमेर सुरक्षा दिने काममा खटियौं,’ उनले भने, ‘विस्तारै प्रहरी चौकी भवन बनाउने बिषयमा गाउँमा छलफल हुँदा आठ कठ्ठा जग्गा दिएँ र प्रहरी चौकी स्थापना भयो ।’ उनले प्रहरीको भवन बनाउन नगद ३ लाख ५० हजार रुपैयाँसमेत उपलब्ध गराए आफ्नो तर्फबाट ।

यसबाहेक उनले खानेपानी कार्यालयको भवन बनाउन ५ कठ्ठा, सशस्त्र प्रहरीको भवन बनाउन १० कठ्ठा, साना किसानको भवन बनाउन १० कठ्ठा, सहकारी संस्थालाई ५ कठ्ठा जग्गा दान गरेका छन् । अहिले भएको पातो बजारमा हटियाका निम्ति सेड निर्माण गर्न पनि उनले ११ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उनले दिएको जग्गामा नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरी सेड समेत निर्माण गरिसकेको छ ।

अस्पतालका लागि दान दिन तयार

सांसद चौधरीले यस क्षेत्रमा प्रायः सबै थोक भएपनि व्यक्तिको स्वास्थ्योपचारका लागि समस्या हुने गरेको बताए । ‘यसका निम्ति म चिन्तित छु,’ उनले भने, ‘अब सांसद बनेपछि यो पनि सपना पूरा हुने विश्वास लिएको छु ।’ उनले यस क्षेत्रमा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूसँग कुरा गरिसकेको जानकारी दिए । ‘कुरा गर्दा स्वास्थ्य मन्त्रीले यसका निम्ति जग्गा खोज्नुपर्ने बताउँदा आफू नै दिन तयार रहेको बताएपछि २५ बेडसम्मको अस्पताल बनाउन सकिने आश्वासन पाएको छु,’ उनले भने । उनले अस्पताल निर्माणका लागि चाहिने जति जग्गा उपलब्ध गराउने बताए ।

राजा हरिश्चन्द्रबाट प्रेरित

उनले भारतमा पढेका थिए । भारतमा पढ्दै गर्दा थुप्रै नाटकमा अभिनय गर्थे उनले । राजा हरिश्चन्द्रको नाटकमा पनि अभिनय गरे । उनलाई हरिश्चन्द्रकोे कथा साह्रै मन पर्‍यो । कथा मन परेपछि उनले धेरै पटक हरिश्चन्द्रको नाटकमा अभिनय गरे । नाटक गर्ने क्रममा राजा हरिश्चन्द्रको भनाई ‘बेचदेही दारा सुमन होहु दास हुमन, मन वचन कर्म ही अभिमानी’ भन्ने शब्दको प्रयोग गर्नुपर्थ्यो उनलाई । उनले यही शब्दबाट मन, वचन र कर्मले अरुका लागि काम गर्नुपर्छ भनेर सिकेको बताए । राजा हरिश्चन्द्रकै इतिहासबाट प्रेरणा लिँदै दान गर्न थालेको उनले बताए ।

 

 

One Response

  1. dhama paudyal

    December 13, 2018 6:05 pm

    म यिन्लाई दिलाई देखी अभिबादन गर्छु । आजसम्म म भ न्दै आएको थिए यी सांसद भन्ने सबै रक्तपिपासु दानब हुन । यिनिहरुको जीबन को एक मात्र उद्देस्य भनेको जसरि हुन्छ्, मारेर हुन्छ्, लुटेर हुन्छ्, डकैती गरेर हुन्छ कमाउं कमाउं र अझै कमाउं भन्ने हुन्छ भन्थें । तर सबै सांसद प्रचन्ड जस्ता हुँदा रहिन्छ्न यस्ता सच्चा मानब दान बिर पनि रेछन भनेर मेरो पहिलेको नेताको मुल्यान्कन बाट लज्जित भएको छु । फेरो पनि चौधरी जी लाई स्यालुट गर्छु ।

    Reply

Leave a Reply