जन्मेकै दिन संसारबाट बिदा भए बसन्त, जन्मदिनको चकलेट समेत बाँड्न पाएनन्

जन्मदिनको खुसियाली मनाउने योजना थियो वसन्त थापाको । अतिरिक्त कक्षा अध्ययनका लागि बिहानै विद्यालय पुगेका वसन्तका साथीले सुस्वास्थ्य, दिर्घायु अनि उज्जवल भविष्यको कामना गरे । सोमबारबाट १५ वर्षमा प्रवेश गरेका थिए उनी । बिहानी कक्षाबाट छुट्टिएको आधा घण्टा पनि नबित्दै सवारी दुर्घटनामा वसन्तको मृत्युको खबरले उनका साथी स्तब्ध भए । जेब्राक्रसबाट बाटो पार गर्न लाग्दा सोमबार १५ वर्षीय वसन्तलाई बोलेरो गाडीले ठक्कर दियो । गाडीको ठक्करबाट जन्मेकै दिन उनले संसारबाट बिदा लिए ।

साथीलाई चकलेट बाँड्ने योजना बनाउँदै बिहानी कक्षा सकिएपछि वसन्त खाना खान घरतर्फ गएका थिए । फर्कंदा ढिलो हुने ठानेर उनले घर जाँदै मिठाइ किन्न सोच बनाए । उनलाई जेब्रा क्रसिंङमै ना ४ च ५००७ नम्बरको बोलेरोले ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका उनलाई बोलेरोको पछाडिबाट आएको ना ५ ख ७५९५ नम्बरको ट्रकले ठक्कर दिएपछि बोलेरो वसन्तको शरीरमाथि चढेर अगाडि बढ्यो । ठक्करबाट गम्भीर घाइते भएका थापाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

थापा लाइसियम इन्टरनेशनल मोडल स्कुलमा कक्षा ८ मा पढ्थे । चैत्र १० गतेबाट सुरु हुने आधारभूत तहको परीक्षाका लागि तयारी कक्षा लिएका थिए उनले । ‘बिहानको प्रार्थना सभामा जन्मदिन मनाउने चलन भएकोले हामीले तयारी गरेका थियौं’ प्रिन्सिपल वसन्त अधिकारीले भने, ‘हामीले शुभकामना दिन पनि पाएनौं ।’

उनी रत्ननगर नगरपालिका १० कैलाश टोलस्थित हजुरबुबाको घरमा हजुरआमा र बुबासँग बस्दै आएका थिए । कक्षाकै अनुशासत विद्यार्थीका रूपमा गनिने विद्यालयका लेखापाल मधुसूदन लामिछानेले बताए । ‘त्यो कक्षाकै सबैभन्दा अनुशासित आँखैमा राखे नबिझाउने विद्यार्थी हुन्’, उनले भने, ‘साथीसँग जन्मदिन मनाउने योजना उनको अपुरै रह्यो ।’ वसन्तको शव पोस्टमार्टमा पछि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । विद्यार्थीको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।

श्रोत : अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *