जापानमा नेपाली कामदार लैजाने तयारी, रोजगारीको लागि भाषा परीक्षा हुँदै

आउँदो असोज महिनामा जापान रोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ। जापान फाउन्डेसनले भाषा परीक्षा परीक्षा सञ्चालन गर्नेछ र भाषा परीक्षापछि सीप परीक्षण गरिने भएको छ । जापान जानका लागि एन फोर तहको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ ।

जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर (नर्सिङ केयर) मा कामदार लैजाने जानकारी मन्त्रालयका उपसचिव दीपक ढकालले दिएका छन् । जापान सरकारले तोकेका संस्थाले नै सीप र भाषाको परीक्षा लिनेछ । कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।

जापानले नेपालसहित ९ देशबाट आगामी ५ वर्षभित्र नौ मुलुकबाट ३ लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले पहिलो चरणमा फिलिपिन्स, नेपाल र भियतनामबाट कामदार लैजान लागेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ । यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा अवसर पाउनेछन् ।

जापानले नेपालगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै वर्किङमा सिफ्ट गरेर अवसर दिने तयारी गरेको छ । जापान जानका लागि एन फोर तहको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । जापानमा मासिक २ लाखभन्दा बढी पारिश्रमिक पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *